काठमाडौँ । धादिङमा यात्रुबाहक बस र माइक्रो बस एक आपसमा ठोक्किएका छन् । जिल्लाको धादिङ बेशी मलेखु सडकखण्ड अन्तर्गत शसाह भन्ने स्थानमा केहीबेर अघि बा ०३ एचवान हाइफन ०००१ ज नम्बरको विद्युतीय माइक्रो बसलाई ना ७ ख २१९८ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
दुर्घटनामा ८ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी मकेन्द्र कुमार मिश्रले जानकारी दिए । माइक्रोबस काठमाडौँबाट धादिङ आउँदै थियो भने अर्को बस धादिङबेसीबाट काठमाडौँका लागि छुटेको थियो ।
दुर्घटनामा माइक्रो बसमा सबार ८ यात्री घाइते भएको र सबै जनाको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको उनले बताए। ‘दुई वटा बसहरू जुधेर भएको दुर्घटनामा ८ जना घाइते भएका छन्,’ सूचना अधिकारी मिश्रले भने,‘ घाइतेहरुलाई उद्धार गरी जिल्ला अस्पतालमा उपचार गरिदैछ ।’
दुर्घटनामा परेका ७ जना घाइतेको अवस्था सामान्य छ भने एक जनाको अवस्था मध्यम किसिमको रहेको प्रहरी भनाई छ । दुर्घटना पछि केहीबेर अवरुद्ध सडक अहिले दुईतर्फी सञ्चालनमा रहेको सूचना अधिकारी मिश्रले बताए ।