काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शालहे आफूहरुले ध्यानाकर्षण गराउन राखेको बोर्ड हराएको सुचना जारी गरेका छन् । उनले काठमाडौँ महानगरपालिकाले चक्रपथ सुधार आयोजना समयमा नसकिएको भन्दै ध्यानाकर्षण गराउन कलंकीदेखि महाराजगञ्जसम्म बोर्ड राखिएको तर उक्त बोर्ड हराएको भन्दै सुचना जारी गरेका छन् । महानगरले बोर्ड चोरी घटनाको अनुसन्धान गरि कारबाही गर्न प्रहरीमा पनि उजुरी दिएको छ ।
त्यस्तै उनले महानगरले महानगरको क्षेत्रभित्र पर्ने चक्रपथको निर्माणकार्य २०१५ मा सक्नुपर्ने भएपनि २०२४ लाग्दा समेत काम नसकिएको भन्दै ध्यानाकर्षणका लागि उक्त बोर्ड राखिएको भएपनि सबै बोर्डहरु हटाइएको बताएका छन् । महानगरले उक्त निर्माण आयोजना आफूहरुको मातहत नरहेको र नेपाल सरकार भौतिक पूर्वाधार मन्त्रालय र चीनको साङ्घाई कन्स्ट्रक्सन कम्पनी जिम्मेवार रहेको भन्दै नागरिकलाई सूसुचित गराउन उक्त बोर्ड राखेको थियो । निर्माण कार्य शंखेकिराको गतिमा भएकाले महानगर र केन्द्रीय सांसदले समेत पटकपटक ध्यानाकर्षण गराउँदासमेत निर्माण कम्पनीले बेवास्ता गरेको उनको आरोप छ ।
कामको गतिका कारण महानगरभित्र बसोबास गर्ने नागरिकले सास्ती भोग्नुपरेको भन्दै सूसुचित गर्न आफूहरुले बोर्ड राखेको तर समयमा काम नसक्ने आयोजनाले बोर्ड भने हटाएको बताएका छन् । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘२०१५ मा सक्नु पर्ने काम २०२४ लाग्दा समेत सकिएको छैन । छेउछाउका बासिन्दा, रिंगरोड प्रयोग गर्नेहरू मात्र होइन, त्यहाँबाट उड्ने धुलोले उपत्यका नै प्रताडित छ । स्थानीयले बोले, संघीय सांसदहरू समेतले पटक पटक आवाज उठाए तर कसैको सुनिएको थिएन । कसैको दुख हेरिएको थिएन । काठमाडौँ महानगरपालिका भित्रको भएर हामीले पनि पटक पटक ध्यानाकर्षण गराउने र आफ्नो कार्यक्षेत्रभित्र पर्ने त्योसम्बन्धित कामहरू गरेर सहयोग गर्ने गरेका नै हौँ । तर निर्माण कार्य शंखेकिराको गतिमा रह्यो । त्यहि जानकारी दिन बोर्ड राखेका थियौँ ।’
नागरिक, जनप्रतिनिधिको समेत आवाज नसुन्ने निर्माणकर्ताहरुले महानगरले राखेको बोर्ड भने देखेको बालेनको आरोप छ । उनले लेखेको छन्, ‘त्यत्रो आवाज नसुन्ने र त्यत्रो दुख नदेख्ने निर्माणकर्ताहरूले ति १० फिट लामो र ५ फिट चौडा भएका बोर्ड चै देखेछन् । समय सकिएको ९ बर्षपछि पनि काम नसक्ने संस्थाले 'कथित अल्टिमेटमको समय' सकिने बित्तिकै बोर्ड निकालेर फ्यालेछन् । अनि आफ्नो देशमा १ दिनमा अस्पताल बनाउनेले कुटनैतिक नोट लेखेछ्न ।'