काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले फास्ट ट्रयाक निर्माणको कार्य सुस्त हुनुमा प्रचलित कानुन बाधक रहेको बतएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिदै उनले यही अवस्था रहे फास्ट ट्रयाक २०८३ सम्म नबन्ने बताएका हुन् ।
कानुनी झनझटका कारण ४ ओटा रुख काट्न ९ महिना समय लागेको बताउँदै उनले फास्ट ट्रयाक निर्माणको लागि सोही अनुसारको कानुन आवश्यक रहेको बताएका हुन् ।
प्रधानसेनापति शर्माले गएको वैशाखमा प्रधानमन्त्री र रक्षामन्त्रीलाई काट्नुपर्ने भनेर देखाएको रुख अहिलेसम्म काट्न नसकेको बताउँदै वन ऐनमा रहेको रुख काट्ने व्यवस्था र जग्गा प्राप्ति ऐन समेत संसोधन गर्नुपर्ने माग राखे । बैठकमा शर्माले भने, ‘जनताको जमिन लुटेर खान पाईँदैन, उनीहरुले मागेजति रकम दिएर मात्र लिन पाईन्छ । सरकारी भाउ एउटा छ, बजार भाउ अर्को छ । यस्ता समस्या समाधान नहुँदासम्म २०८३ सालमा काठमाडौंबाट निजगढसम्म गाडी चल्ने मात्र बनाउन सकेपनि उपलब्धी मान्नुपर्छ । ’
प्रधानसेनापति शर्माले पुराना नियमहरु परिमार्जन नगर्ने हो भने फस्ट ट्रयाक मात्र नभएर कुनै पनि परियोजना समयमा सकिन नसक्ने दावी गरे ।