काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्। संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य हुनुअघि प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्ने भएका हुन् ।
आइतबार बसेको मन्त्रीपरिषद् बैठकले आज राति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । अधिवेशन अन्त्य गर्नुअघि सोमबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन् ।
त्यस्तै आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ।
त्यसैगरी सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले छानबिन प्रतिवेदन पेश गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७९/८० पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।