काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद कांग्रेसको दादागिरीले चल्ने ठाउँ नभएको बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसले एकोहोरो आरोपमात्र लगाइरहने तर जवाफ दिन नदिएर दादागिरी देखाएको बताएका छन् ।
कार्यक्रममा बोल्दै उनले कांग्रेसले सत्तारुढ दलका सांसदहरुलाई मर्यादाहिन आरोप लगाउँदै आएको र जवाफ दिने प्रयास नगरेको भन्दै उनले संसद कांग्रेसको दादागिरी चल्ने ठाउँ नभएको बताएका हुन् । ‘कांग्रेसका मान्छेहरू एमालेमाथि मर्यादाहीन ढंगले आरोप लगाउँदै उचाल्दै हिँडेका छन् । अहिले सदन पनि एमालेले चल्न नदिएको भनिरहेको छ । कांग्रेसले प्रधानमन्त्री र रवि लामिछानेले पनि चलाउ भनिरहेका छन्, एमालेले चलाउन नदिएको भन्छन् । हामीले पनि चलाउनुपर्छ भनिरहेका छौँ तर, संसद भनेको कांग्रेसको दादागिरीले चल्ने ठाउँ होइन ।’, उनले थपे, ‘विधि र नियमले चल्छ । लोकतान्त्रिक तरिकाले चल्नुपर्छ ।’
त्यस्तै उनले संसदमा कांग्रेसले दादागिरी देखाएर रवि लामिछानेले बोल्न नदिए कांग्रेसलाई पनि बोल्न नदिइने बताए । ‘कांग्रेस बोल्न पाउँदा हामीले बोल्न नपाउने ?’, उनले थपे, ‘अर्को दिनबाट हामी पनि बोल्ने हो। कांग्रेस बोल्दा हामीले सुनिदिनुपर्ने ?’