काठमाडाैँ : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले रुसी सेनामा भर्ती हुने नेपालीहरूको संख्या २ सय रहेको जानकारी आएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार प्रेस सेन्टरको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले दुई सयको संख्यामा नेपालीहरू रुसी सेनामा रहेको औपचारिक जानकारी आएको बताए।
उनले कोही भिजिट भिसा, कोही अध्ययन भिसामा रुसमा पुगेर २ सय नेपाली रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरूको अध्ययन र खोजी कार्य भइरहेको बताए । त्यस्तै उनले कोही रुसी सेना र कोही युक्रेनी सेनाको कब्जामा रहेको समेत जानकारी दिए ।
‘रुसी सेनामा पनि नेपाली युवाहरू गएर कोही पढ्न गएका कोही भिजिट भिसामा गएका कोही केमा गएका सेनामा भर्ती भएर ६ जना मरेको त औपचारिक ढंगले जानकारी आयो ।’, उनले थपे, ‘अब २ सय भन्दा बढी छन् भन्नेछ, त्यसको खोजी, अध्ययन भइरहेको छ । त्यो परिस्थिति सामना गर्नुपरेको छ । कोही रुसी सेनामा जाँदा युक्रेनी सेनाको कब्जामा छन् । युक्रेनी सेनामा पनि नेपाली छन्, त्यसको तथ्यांक हामी खोज्दैछौँ ।’
त्यस्तै उनले इजरायलमा भएको हमास आक्रमणमा बेपत्ता भएका विपिन जोशीको उद्दारका लागि आफूहरु अन्तिम प्रक्रियातिर रहेको समेत जानकारी गराए ।