बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा धरानका मेयर हर्क साम्पाङले लगाएको ताला खोल्न उच्च अदालत विराटनगरले आदेश दिएको छ । न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले उक्त ताला खोल्न अन्तरिम अमदेश दिएका हुन् ।
सञ्जीवकुमार साहले दायर गरेको रिटमा सुनवाई गर्दै न्यायाधीश पुडासैनीको इजलासले संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्नू नगराउनू भनी आदेश दिएको हो ।
कामु उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीले विगत लामो समयदेखि आन्दोलनरत शिक्षक, कर्मचारी र चिकित्सकका माग सम्बोधन गर्न तत्परता नदेखाएको भन्दै मेयर साम्पाङले तालाबन्दी गरेका थिए ।
सोमबार प्रतिष्ठान पुगेका साम्पाङ्ले सुरुमा प्रतिष्ठानमा भइरहेको आन्दोलनलाई ऐक्यबद्धता जनाएर उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेका थिए । बढुवा प्रक्रिया शुरू नभएको भन्दै प्रतिष्ठानका कर्मचारी, शिक्षक र चिकित्सकको संयुक्त टोली आन्दोलनरत छन्। उनीहरुले अस्पतालका आकस्मिक कक्ष, ल्याब, एक्स–रे बाहेकका सम्पूर्ण सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।
प्रतिष्ठानका ४ पदाधिकारीमध्ये ३ जना बढुवा प्रक्रियामा सकरात्मक रहेको तर कामु उपकुलपति भने सहमत नभएको भन्दै कर्मचारी, शिक्षक र चिकित्सक आन्दोलनरत छन् । कार्यकक्षमा तालबन्दी गरेपछि मेयर हर्क साम्पाङले कार्कीलाई खोजी गरी कारबाही गर्न माग गरेका थिए । यता प्रधानमन्त्री पुष्पकमल दाहालले पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान देखिएको समस्या समाधान गर्न निर्देशन दिएका थिए ।