काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रिय समिति बैठक बोलाएको छ । रास्वपाको केन्द्रिय कार्यालय वनस्थलीमा बुधबार दिउँसो ३ बजे बैठक सुरू हुने रास्वपाका सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।
रावलका अनुसार बैठकले पार्टीको आर्थिक प्रशासन नियमावली तथा अर्थ नीति विभागको प्रतिवेदनमाथि छलफल गर्ने छ । रास्वपाका उपसभापति डा स्वर्णीम वाग्लेको नेतृत्वमा रहेको अर्थ नीति विभागले नेपालका बैंक, सहकारी तथा लघुवित्तमा देखिएका वित्तिय समस्या समाधानका लागि अध्ययन प्रतिवेदन तयार पारेको छ । विभागले तयार पारेको प्रतिवेदनमाथि केन्द्रिय समिति बैठकमा छलफल गरेपछि सरकारलाई सुझावका रूपमा पेश गरिने रावलले बताइन् ।
साथै रास्वपाले मङ्सिरको पहिलो साता गरेको घरदैलोबाट प्राप्त सुझाव माथि पनि छलफल हुने जनाएको छ । निर्वाचन भएको वर्षदिनमा रास्वपाका सबै सांसदले मुल्याङ्कन तथा सुझाव माग्दै घरदैलो गरेका थिए । घरदैलोमा रास्वपा र सांसदका कमि कमजोरी, सुझाव र आफ्नो क्षेत्रका प्राथमिकता मागिएको थियो ।