महोत्तरी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको सेयर खरिदबिक्री प्रकरणमा प्रचण्ड र उनीहरुका परिवार संलग्न रहेको अफवाह फैलाउने फटाहाको अहिले मुखमा बुझो लागेको बताएका छन् ।
आइतबार महोत्तरीस्थित जनता मावि गौरीडाँडाको स्वर्ण महोत्सवमा सम्बोधन गर्दै उनले सांसदसमेत रहेको अमरेशकुमार सिंहलाई इंकित गर्दै जनतालाई भ्रम छर्ने षड्यन्त्रअन्तर्गत प्रचारबाजी गरेको भन्दै उक्त अभिव्यक्ति दिएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने, ‘एनसेलसम्बन्धी भएका गतिविधिको समग्र छानबिनका लागि समिति बनाएपछि ती फटाहाहरू जसले जानिबुझी सरकारले राम्रो काम गरेकोमा जनतालाई भ्रम दिने षड्यन्त्रअन्तर्गत प्रचारबाजी गरेका थिए, तिनीहरूको मुखमा अहिले बुजो लागेको छ ।’
त्यस्तै उनले आफू दुबईमा रहँदा एनसेलको सेयर बिक्री भएको खबर प्राप्त गरेको र नेपाल आउनासाथ गठबन्धन र मन्त्रिपरिषद बैठकमा छलफल गरी छानबिन समिति गठन गरेको समेत बताए।
उनले आफू नेतृत्वको सरकारले सुशासन र समृद्धिका पक्षमा थालेको कामले केही झुण्ड आत्तिएको समेत बताए । ‘अहिले मेरो नेतृत्वको सरकारले विश्वव्यापी रूपमा र देशभरि पनि सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा थालेका कामहरू, अर्थतन्त्र सुधारका निम्ति थालेका कामहरूबाट आतङ्कित भएर एनसेलमा अर्बौंको भ्रष्टाचार गर्यो प्रचण्डले भन्ने प्रचार भएको देखेँ मैले।’, प्रचण्डले भने ।