१४ भदौ, ललितपुर - इन्जिनियरिङ शिक्षाको स्नातक तहको शुल्क तत्काल नबढाउने भनि त्रिभुवन विश्वविद्यालय र सत्तारुढ दलनिकट विद्यार्थी संगठनहरुबीच बुधबार भएको सहमतिको विरोधमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा ताला लगाएका छन् ।
इन्जिनियरिङ अध्ययन संस्थान त्रिविले इन्जिनियरिङ शिक्षाको स्नातक तहको शुल्क बढाएकाे भन्दै विगत केही दिनदेखि विभिन्न विद्यार्थी संगठन साथै विद्यार्थीहरु आन्दोलनरत थिए । विद्यार्थीको आन्दोलनपश्चात बुधबार सत्तारुढ दलनिकट विद्यार्थी संगठनसँग संस्थानले तत्काल शुल्क नबढाउने सहमति गरेकाे थियो तर उक्त सहमति एकपक्षिय भएका कारण सहमति खारेज हुनुपर्ने माग राखेर पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले ताला लगाएका हुन् ।
वास्तविक विद्यार्थीको सहभागिता बिनानै सहमति भएका कारण सहमति खारेज गर्नुपर्ने उनीहरुको माग छ ।
इन्जिनियरिङ संस्थानले शुल्क वृद्धि गरेपछि शुल्कवृद्धि फिर्ताको माग गर्दै पुल्चोक इन्जिनियरिङ कलेजमा नेपाल विद्यार्थी संघका सुलभ चापागाईं, अखिल क्रान्तिकारीका केशव रावल, समाजवादी विद्यार्थी युनियनकी रसना यादव, अखिल क्रान्तिकारीका प्रेम सिंह आमरण अनसन बसेका थिए । अनसनमा बसेकाहरुलाई निर्णयमा संलग्न नगराइएको भन्दै तालाबन्दी गराइएको हो । अनसनमा बसेकाहरूलाई निर्णयमा संलग्न नगराइएको भन्दै नेविसंघका सुलभ चापागाँईले नेविसंघ पुल्चोक इकाई सभापतिबाट हिजै राजीनामा दिइसकेका छन् ।
साथै उक्त सहमतिमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी र स्ववियुको सहमति नरहेको भन्दै विद्यार्थीहरुले ताला लगाएका हुन् ।