काठमाडाैँ । ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ जात्रा आज निकालिएको छ । हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट यो जात्रा निकालिन्छ । यो जात्रा तीन दिनसम्म मनाउने गरिन्छ ।
अन्य जात्रामा रथमा देवतालाई भित्र राखेर गजुर माथि बनाइएको हुन्छ । तर हाँडीगाउँको जात्रामा गजुर मुनि र देवता माथि रहने गर्छन् ।
यसैगरी, कहीँ पनि नपाउने एक विशेष प्रजातिको फूल (सी स्वाह) हाँडीगाउँको जात्रामा चाहिन्छ भने एउटा इनार छ जहाँको पानी यही जात्रामा मात्रै चढाइने गरिन्छ ।
यो जात्रा लिच्छिवीकालका राजाले सुरु गरेको विश्वास रहिआएको छ । किंवदन्तीका अनुसार कुनै समयमा एक राजाका दुई छोरी थिए । उनीहरूको एकै समयमा सुत्केरी हुने समय भयो । दिदीले सुत्केरी गराउन नारायण भगवानको शक्ति आवश्यक रहेको बताएपनि बहिनीले यस कुरामा विश्वास गरेकी थिइनन् । जसकारण, दिदीले सफलतापूर्वक सन्तानलाई जन्म दिएपनि बहिनीले १२ वर्षसम्म पनि सन्तानलाई जन्म दिन सकेकी थिइनन् । यसको कारण खोज्दै जाँदा नारायण भगवान रिसाएका र रिसाएका नारायण भगवान् हिमालयमा तपस्या गरेर बसेको थाहा भयो । उनलाई खुसी पार्न कहीँ नभएको जात्रा गरेपछि मात्रै बहिनीले सफलतापूर्वक सुत्केरी गराउन सफल भएकी थिइन् भन्ने विश्वास रहेको छ ।