काठमाडाैँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू मन्त्री बनेको १ वर्षमा आफूले १०१ काम गरेको दाबी गरेका छन् ।
मन्त्री बनेको एक वर्ष पुगेको अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले आफूले पशुपतिनाथ मन्दिर परिसरको सरसफाइदेखि ट्विनअटर जहाज मर्मतसम्म गरेकाे दाबी गरेका हुन् ।
उनले आफूले गरेका कामको सूचिलाई महिना अनुसार वर्गिकरण गरेका छन् । जसमा पहिलो तीन महिनामा पशुपतिनाथ मन्दिर लगायत काठमाडौँमा भएका विभिन्न विश्व सम्पदाहरुको विशेष सरसफाइ र सरसफाई निर्देशिका जारी गर्नमा विशेष जोड दिएको बताएका छन् ।
त्यस्तै आफ्नो कार्यकालको ९ महिनाभित्रमा आफूहरुले मध्यम स्तरको काममा हात हालेको र त्यसको परिणाम आउन बाँकी रहेको र ती कतिपय कामहरु अझै पाइपलाइनमा रहेको उनले बताए ।
दुर्गम क्षेत्रमा उडान भर्ने साना तीनवटा जहाज खरिद प्रक्रिया अन्तिम अवस्थामा पुगेको, २०१२ सालदेखि बिग्रिएर बसेको ट्विनअटर जहाज मर्मत गरेर उडानका लागि तयारी गरेसँगै आफूहरुसँग साना क्षमताका ६ विमान भएका कारण आगामी दिनमा घाम तापेर बसेका २३ विमानस्थलमा उडान भर्ने उनले दाबी गरे ।
चिनियाँ जहाजलाई निकास दिनेगरी टेन्डर प्रक्रिया अगाडि बढाइसकेको र पर्यटक बढाउन लिजमा जहाज ल्याउने प्रक्रिया पनि अगाडि बढिसकेको उनले बताए ।
त्यस्तै पर्यटनमन्त्री किरातीले आफू मन्त्री बनेसँगै अत्यन्त जरुरी कामबाहेक विदेश नजाने घोषणा गरेको र हालसम्म मन्त्री बने यता कुनै पनि देश नगएको समेत बताएका छन् ।