काठमाडाैँ । सोलुखुम्बुमा टासिलाप्चा जाने बाटोमा रहेको ताल फुटेको छ । सो क्षेत्रमा ताल फुट्दा खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नम्बर ५ थामेमा लेदोसहितको बाढी गएको छ ।
दिउँसो करिब १ बजेदेखि गएको बाढीले सो क्षेत्रको विद्यालयका होस्टल, ४/५ वटा होटल रहेका घरहरुमा पूर्णरुपमा क्षति पुर्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पासाङ सोनम शेर्पाले बताए । ‘टासीलाप्चा जाने बाटोमा रहेका पोखरीहरुमध्ये कुनै पोखरी फुट्यो भन्ने अनुमान गरिएको छ । अहिले पानीको बहाव क्रमस कम हुँदै गएको छ । तर विद्यालयको होस्टल र ४/५ ओटा होटलहरु रहेका घरहरु पूर्ण रुपमा क्षति भएको विवरण प्राप्त भएको छ ।’, प्रशासकीय अधिकृत शेर्पाले सिधाकुरासँग भने ।
त्यस्तै शेर्पाका अनुसार हालसम्म कुनै मानवीय क्षति भने भएको छैन । ‘अहिले त्यहाँ बादल लागेको छ । स्थानीयहरु अहिले सुरक्षित स्थानमा छन् । तर हेर्दाहेदै घर भत्किरहेको अवस्था छ । बाढीको कटान जारी छ ।’, शेर्पाले भने ।