काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुस युक्रेन युद्धमा रहेका नेपालीहरूलाई फिर्ता ल्याउनका लागि सरकारले प्रयास गरिरहेको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले युगाण्डामा रुसी उपविदेशमन्त्रीसँग भेट गरेर नै नेपालीहरूलाई फिर्ता पठाइदिन आग्रह गरेको समेत बताए । साथै पटकपटक नोट पठाएर रुसी सेनामा भर्ती भएका नेपालीको बारेमा बुझ्ने प्रयास भैरहेको दाबी गरे ।
'रुस र युक्रेन युद्धमा छन्, हाम्रो आग्रहलाई कत्तिको प्रेसरमा लिन्छन्' भन्ने कुरा महत्वपुर्ण भएको बताउँदै प्रचण्डले सरकारको पहलले मात्रै नहुने बताए । सरकारले मात्रै गरेर नहुने उल्लेख गर्दै उनले भने, ‘यसका लागि हामी सबैले आफ्नो तर्फबाट गर्नुपर्छ । सरकारले मात्रै गर्ने भए सरकारले पठाएको पनि होइन । सरकारले भन्ने बित्तिकै रुसले मान्दिहाल्ने कुरा पनि छैन । हामी सबैको साझा र लगातारको प्रयासले परिणाम निकाल्नुपर्छ ।’
त्यस्तै नेपालीहरूले पनि सरकारले मान्यता नदिएकाे र संविधानविपिरत गर्न नहुने उनले बताए । उनले भने, ‘जहाँ पायो त्यही जागिर खाने नाममा राज्यको नीति, संविधानको मर्म विपरीत जहाँ पनि जाने । अझ बाटो छलेर जाने यो तरिका भएन ।’