ललितपुर । फुटपाथ व्यवसायीको व्यवस्थापनको मागसहित ललितपुर महनगरको गेटमा उभिन पुगेका अभियन्ता ईः लाई पैदलयात्रीहरुले अवरोध गरेका छन् । ईः को विरुद्धमा पुगेका पैदलयात्रीहरुले फुटपाथ हिड्नको लागि भएको र हिड्न पाउने पैदलयात्रीको अधिकार हनन गर्न नहुने भन्दै अवरोध गरेका हुन् ।
उनीहरुले बिभिन्न फ्लेक्स सहित ईः को अभियानको बिरोध गरेका छन् । फुटपाथमा व्यवसाय गर्दा पैदल यात्रीहरुलाई समस्या हुने उनीहरुको तर्क छ । त्यसैले फुटपाथमा व्ववसाय सञ्चालन गर्न दिन नहुने उनीहरुको भनाई छ ।
फुटपाथ व्यवसायीलाई काठमाडौँ महानगरपालिकाले विकल्प नदिई बलजफ्ती हटाएको भन्दै उनीहरुको व्यवस्थापनको मागसहित राष्ट्रिय सभागृह अगाडि १९९ घण्टासम्म उभिएका अभियन्टा ईः ललितपुर महानगरपालिका अगाडि पनि उभिने घोषण गरेका थिए ।
ललितपुर महानगरपालिकाले फुटपाथ व्यवसायले सडकपेटी अस्तव्यस्त बनेको भन्दै केही स्थानमा फुटपाथ व्यवसाय गर्न नदिने बताएसँगै उनले उक्त निर्णय पुनर्विचार गर्न अनुरोध गर्दै महानगर अगाडि उभिने निर्णय गरेका हुन् । उनले मंगलबार ३ बजेदेखि १०८ मिनेट उभिने बताएका थिए ।
उनले ‘कर लेऊ, गरी खान देऊ, विस्थापन होइन, व्यवस्थापन गर।’ भन्ने माग सहित उभिने निर्णय गरेका थिए । तर उनले गर्न लागेकै बिरोधको बिरोध भएको छ । पैदलयात्री बताउनेहरुले उनको कार्यक्रममा अवरोध गरेका हुन् ।