शनिबार बिहान काठमाडौंको बानेश्वरस्थित गैह्रीगाउँमा चार जनाको विभत्स हत्या गरेको अवस्थामा शव फेला परेको छ।
तीनकुने नजिकै गैह्रीगाउँस्थित दिव्य स.मिलमा हत्या गरेको अवस्थामा दुई पुरुष र २ महिलाको शव फेला परेको हो ।
धारिलो हतियार प्रहार गरेर विभत्स ढंगले हत्या गरेको अवस्थामा शव फेला परेका उनीहरु सबैको सनाखत भएको छ । जसमध्ये ३ जना एकै परिवारका रहेको खुलेको छ ।
हत्या हुनेमा सोही काठ मिलमा चौकीदारको काम गर्ने दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राई छन्।
घटनास्थलबाट सोधपुछका लागि काठमाडौँ महानगरपालिका ३२ तीनकुने बस्ने अन्दाजी २८ वर्षीय दिपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले नियन्त्रणमा लिँदा राई कपडा र जुत्तामा रगत लत्पतिएको अवस्थामा फेला परेका थिए ।
अहिले प्रहरी घटनास्थल पुगेर मुचुल्का लगायतका काम गरिरहेको छ भने चारवटै शवलाई पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।
त्यस्तै घटनाको अनु्सन्धानको लागि तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको छ ।