संखुवासभा । ईलाका प्रहरी कार्यालय चैनपुर, संखुवासभाले २० वर्ष कैद फैसला भएकी फरार प्रतिवादी कैली तामाङलाई पक्राउ गरेको छ । चैनपुर प्रहरीले ईलाका प्रहरी कार्यालय केराबारी, मोरङसँगको समन्वयमा माद्द १० मा मोरङकै केराबारी गाउँपालिका वडा नं. १० बाट तामाङलाई पक्राउ गरेको हो ।
संखुवासभा घर भएकी तामाङले २०६० फागुन ११ गते बेलुकी जिल्लाको साविक सिद्धकाली गा.वि.स वडा नं २ बस्ने मंगल लिम्बु र योगेन्द्र दाहालको हत्या गरेकी थिइन् । हराएको पाइप लिन जाने क्रममा तामाङले उनीहरुको मुङ्ग्री, ढुङ्गा, खुकुरीले आक्रमण गरी हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी तामाङलाई जिल्ला अदालत संखुवासभाले २०६६ साल फागुन १२ गते २० वर्षको कैद सजाय सुनाएपनि उनी फरार रहेकी थिइन् । २० वर्षयता फरार रहेकी उनी विभिन्न समयमा विभिन्न स्थानमा लुकिछिपि बसिरहेको र पछिल्लो समयमा मोरङ जिल्लामा लुकेर बसेको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले उनलाई पक्राउ गरी संखुवासभा जिल्ला अदालत चैनपुर समेत उपस्थित गराईसकेको छ । अदालतको पत्रअनुसार उनलाई कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय संखुवासभा पठाईएको प्रहरीले जनाएको छ ।