काठमाडौँ । स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका नक्कली मदिरा उत्पादन गरेर बजारमा पुर्याउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको खाँडादेबी गाउँपालिका–२ का २८ वर्षीय मनोज खत्री, २० वर्षीय मनिश खत्री, कोटेश्वर बस्ने ३६ वर्षीय बिनोद कुमार कार्की, रामेछापकै मजुवा गाउँपालिका–३ का २३ वर्षीय महेश खत्री, सिन्धुपाल्चोकको चौतारा गाउँपालिका –३ का २७ वर्षीय मोहन खड्का, १८ वर्षीय रोशन कार्की, सिन्धुलीको कमलामाई नगरपालिका–९ का २८ वर्षीय गौरव तामाङ, कोटेश्वर बस्ने ४० वर्षीय लेख ब्रिकम थापा, काठमाडौँ कागेश्वरी मनोहरा–६ मुलपानीका ३५ वर्षीय सुमन नगरकोटी रहेका छन् ।
प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई कागेश्वरी मनोहरा नगरपालिका– ५ थलिबाट नियन्त्रणमा लिएको हो । उनीहरुका साथमा प्रहरीले नक्कली मदिरा, कच्चा पदार्थ लगाएतका सामाग्री पनि नियन्त्रणमा लिएको छ । उनीहरुले खुकुरी रम, गोल्डन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक लगायत ब्राण्डका नक्कली मदिरा बजारमा पठाउने गरेको खुलेको हो । त्यस्तै प्रहरीले उनीहरुले संचालन गरेको कारखानाबाट सगुन ब्राण्डको मदिरा, मिश्रीत तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, आन्तरिक राजश्व बिभागको अन्त शुल्कको स्टिकरहरु, लेवलिङ र प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरु बरामद गरेको छ ।
उनीहरुले नक्कली मदिराको कारखाना र गोदामनै खोलेर धन्दा चलाएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनीहरुले महँगा ब्रान्डका मदिराका बोतलमा नक्कली रक्सी मिसाएर बजार पठाउने गरेका हुन ।
पक्राउ परेकामध्ये अधिकांश यसअघि पनि नक्कली मदिरा बनाएको अभियोगमा पक्राउ परेको देखिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी अनिल घिमिरेले जानकारी दिए ।
उनीहरुले चिनी र पानी मिलाएर पकाउने र त्यसपछि अल्कोहल मिसाएर बजारमा प्रचलित दरभाउभन्दा कम मूल्यमा नक्कली मदिरा बिक्रि गर्ने खुलेको प्रहरीले जनाएको छ ।