रसुवा । रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा पर्ने मैलुङ्ग झरना यति बेला गर्मी छल्नका लागि आन्तरिक पर्यटकको पहिलो रोजाईमा पर्ने गरेको छ । चलनचल्तीको रुपमा भाङ्गे झरनाको नामले समेत चिनिने सो झरना अहिले भने मैलुङ्ग झरना नामले विभिन्न सामाजिक सञ्जालमा समेत चर्चित भएको छ । सोही कारण अहिले झरना हेर्न आउने, टिकटक बनाउने र रमाउन आउने आन्तरिक पर्यटकको रोजाईमा परेको छ, यो झरना ।
राजधानी काठमाडौँ देखि करिब ७० किलोमिटर दूरीमा रहेको सो झरना मोटरसाइकल, नीजि सवारी साधन र बसको प्रयोग गरी पुग्न सकिन्छ । जहाँ त्रिशूली नदी मुनीबाट बगेको छ भने मैलुङ्ग झरना माथी पट्टि रहेको छ ।
गर्मी बढेसँगै सो झरनामा गर्मी छल्न जाने मान्छेको भिड बढ्ने गरेको स्थानीयहरु बताउँछन् । त्यस्तै अन्य दिनहरुको तुलनामा शनिवार भने अत्याधिक भिड लाग्ने गर्छ ।