चितवनका दुई नेपालीको अपहरण गरेको आरोपमा भारतबाट ६ जना अपहरणकारी पक्राउ परेका छन् ।
गत पुस ५ गते चितवनका कृष्ण थापा र दीपेन्द्र महत मोटरसाइकलमा रौतहटको चन्द्रपुर जाने भनेर हिँडेका थिए । त्यसपछि सम्पर्कविहिन बनेका उनीहरु ७ गते मात्र सम्पर्कमा आएका थिए, तर अपहरणमा परेको भन्दै गुहार गर्दै ।
पुस ७ गते बेलुका थापाले मेसेन्जरमार्फत श्रीमतीलाई कल गरेर आफूहरू अपहरणमा परेको र ६ लाख रुपैयाँ मागेको बताएका थिए ।
उनीहरुको गुहारपछि पीडितका आफन्त प्रहरीकहाँ पुगेका थिए । नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोग माग गरेको थियो । भारतीय प्रहरीहरुसँग सहयोग तथा समन्वय गरी अप्रेसन सञ्चालन गर्दा उनीहरुलाई पुस १० गते भारतको सितामढी डुम्रा थानाबाट खटिएको भारतीय प्रहरीले सकुशल उद्धार गरेको थियो ।
भारतीय प्रहरीले मंगलबार उनीहरुको उद्धार गरी रौतहट प्रहरीलाई जिम्मा लगाएको थियो । रौतहट प्रहरीले पनि उनीहरुलाई परिवारको जिम्मा लगाएको छ ।
थापा र महतलाई अपहरण गरेको आरोपमा भारतीय नागरिकहरु राम नरेश कुमार, अकबर राइन, नइम अकतर, कौसर अली, सदाब सइम र ईरसाद शेख पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
भारतीय प्रहरीले पीडितबाट अपहरण तथा शरीर बन्धक शीर्षकमा जाहेरी दरखास्त लिई थप अनुसन्धान कार्य अगाडि बढाएको बताएको छ ।