काठमाडौं । कृषि सामाग्री कम्पनीका निमित्त प्रबन्धक विष्णुप्रसाद पोखरेललाई अनुसन्धान गरी कारबाही गर्न माग गर्दै अख्यिार दुरुपयोग आयोगमा उजुरी परेको छ ।
आइतबार आयोगमा सी ०४४९३१ नम्बरमा दर्ता भएको उजुरीमा पदको लाभका लागि स्वार्थ बाझिने काम गरेको उल्लेख छ । कृषि सामाग्री कम्पनीको रिक्त प्रबन्ध सञ्चालक पदको नियुक्तीका लागि आफूअनुकुल कार्यविधि बनाएर आफै प्रतिस्पर्धामा सहभागी भएको आरोप उनीमाथि लगाइएको छ ।
‘आफैं योग्य ठहरीने गरी कार्यविधि बनाएर आफैं कम्पनीको प्रबन्धक बन्न निजले दौडधुप गरिरहेका छन्,’ अख्तियारमा दायर भएको उजुरीमा भनिएको छ,‘यस अघि पनि अख्तियारको कारबाहीमा परेका पोखरेलले पद प्राप्त गर्ने उद्येश्यले फेरि पनि अख्तियारको दुरुपयोग गरेका छन् ।’
पोखरेलले नै तयार पारेको कार्यविधिमा आधारित भएर कृषि तथा पशुपंछी विकास मन्त्रालयले कृषि सामाग्री लिमिटेडको प्रबन्ध सञ्चालक नियुक्ति अन्तिम चरणमा पु¥याएको छ ।