वीरगंज । वीरगंजमा दुईपक्षको विवादपश्चात झडप हुदाँ ११ जना प्रहरी घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालका अनुसार दुई पक्षबीच विवाद साम्य पार्न पुगेको प्रहरीलाई प्रदर्शनकारीले ताकेर ढुङ्गा मुढा प्रहार गरेका थिए । ढुंगामुढाका कारण नेपाल प्रहरी ९ जना र सशस्त्र प्रहरी २ जना गरी ११ जना प्रहरी घाइते भएका छन् ।
रौतहटको ईशानाथ नगरपालिकाको मोतिपुरमा फागुन ३ गते सरस्वतीको मूर्ति सेलाउने क्रममा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर वीरगंजमा बन्द, जुलुस तथा प्रदर्शन भएको हो । प्रदर्शनका क्रममा विवादले उग्र रुप लिदाँ प्रहरीको टाउको, खुट्टा लगायतको स्थानमा चोट लागेको हो । घाइते प्रहरीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
त्यस्तै स्थिती नियन्त्रणबाहिर गएपछि त्यसलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा साँझ ५ बजेदेखी कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मित्तेरी पुल भित्र पर्ने क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।
प्रशासनले निषेधित क्षेत्रमा आवत जावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न, जुलुश प्रदर्शन गर्न, घेराउ र्याली तथा अन्य कुनै उङ्खल गतिबिधि गर्न नपाउने उल्लेख गरेको छ ।