काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले रवि लामिछानेलाई सरकारले पुनः म्याद थपेर हिरासतमा राख्ने प्रपञ्ज गरे आफुहरु अनशनमा बस्ने चेतावनी दिएका छन् । उनीहरुले बुधबार बृहत र्यालीसहित नगर परिक्रमा गरेर पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालयमा उक्त ज्ञापनपत्र पठाएको हुन् ।
रास्वपाका पर्सा जिल्ला सभापति हरि पन्तको नेतृत्वमा निकालिएको र्यालीमा सांकेतिक रुपमा रवि लामिछानेलाई निर्दोष हुँदाहुँदै पनि हत्कडी लगाएको प्रतीक बनाएर बजार परिक्रमा गराइएको थियो । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको फोटोको समेत मुखुण्डो बनाएर विरोध प्रदर्शन गरेका थिए । त्यस्तै आजको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा केही समय तनाब र घम्साघम्सी समेत भएको थियो ।
सो विरोध कार्यक्रम जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर घण्टा घरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा रास्वपा पर्साका केन्द्रिय सदस्य डा नन्दन यादब , प्रदेश सदस्य पुरुषोत्तम उपाध्याय , क्षेत्रीय सभापतिहरु जितेन्द्र मिश्र, फैयाद मिया, पालिका सभापति चन्दन गुप्ता लगायतले मन्तव्य राखेका थिए ।
जुलुस र कार्यक्रममा अत्यन्तै उत्साहजनक उपस्तिथि रहेको र रवि लामिछाने अझ पनि हिरासतमा राखिरहे देश रविमय र रास्वपामय बन्ने जिल्ला सभापति हरि पन्तले बताए । उनले भने ‘अब देश र जनताले रवि निर्दोष भएको छर्लङ्ग बुझिसकेकाले नै जनता रविको पक्षमा उर्लिएको छ ।’