काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६(२)बमोजिमनयाँ प्रधानमन्त्री नियुक्तिका लागि बहुमतसहित दाबी पेश गर्न आह्वान गरेका छन् ।
राष्ट्रपतिले नेपालको संविधानको धारा ७६(२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाएर आईतबार साँझ ५ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका हुन् ।
यो सँगै अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री हुने बाटो खुलेको छ । संसद्मा विश्वासको मत पाउन नसकेपछि प्रधानमन्त्री पदमुक्त भएपछि नेपाली कांग्रेस र नेकपा एमालेले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्दै छन् ।
नेपालको संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री बन्नका लागि २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत १३८ मत आवश्यक पर्छ । प्रतिनिधि सभामा कांग्रेसका ८८ र एमालेका ७९ सांसदगरि सहज बहुमत १६७ मत पुग्ने छ ।