३१ भदौ, विराटनगर - जिल्ला प्रशासन कार्यालय मोरङले असोज १ गतेदेखि विराटनगरका विभिन्न क्षेत्रमा २ महिनासम्म सभा जुलुस गर्न नपाउने बताएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले मुख्यमन्त्री कार्यालय र प्रदेश सभा आसपासको क्षेत्रलाई २ महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको हो ।
पहिचानवादीहरुले संविधान दिवसको अवसर पारेर विराटनगरमा प्रदर्शनको तयारी गरेका छन् । त्यसैलाई ध्यानमा राखेर प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आइतबार एक सूचना जारी गर्दै विविध समूहलगायतबाट विरोध, धर्ना, जुलुस आयोजना गरिएको जनाउँदै असोज १ गते बिहान ६ बजेदेखि २ महिना सम्मका लागि निषेधित क्षेत्र तोकेका हुन् ।
निषेधित क्षेत्र तोकेका स्थानहरुमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक क्षेत्र, मुखयमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र, मुख्यमन्त्री निवासको ३ सय मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालयबाट ३ सय मिटर वरपर र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्व रहेको छ ।
निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारी साधन आवात जावतबाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली, धर्ना जस्ता कार्यहरु गर्न निषेध गरिएको हो । निषेधाज्ञाका उल्लंघन गरिए कानून अनुसार कारबाही हुने सूचनामा उल्लेख छ ।