
काठमाडौँ । गत माघ २६ गते गते सुशान्त प्रधानको पोडकाष्टमा कमेडियन सजन श्रेष्ठ, उत्सव सापकोटा र सुजन जिम्बा अतिथि थिए । पोडकाष्टकै क्रममा कमेडियन सजन श्रेष्ठले अहिलेका चल्तिका गायक कुमाःसागरको ‘हावाको लहरसँगै...’ गीत गाउने शैलीलाई व्यङ्ग्य गरे ।
कमेडियनहरु कै जमघट रहेको उक्त पोडकाष्टमा सजनले कुमा सागरको जस्तै गरि गित गाउने प्रयास गरेको देखिन्छ । तर, त्यसलाई अर्का कमेडियन उत्सव सापकोटाले छाडा बनाइदिए । सजनले गाउँदा अपभ्रंश भएको एउटा शब्दलाई उत्सवले पुनः छाडा उच्चराण गर्छन् र त्यसलाई पुनः सजनले पनि भन्छन् ।
झण्डै ३० सेकेन्ड लामो उक्त कुराकानी पछि सजनले गल्ति भएको भेउ पाए जस्तै गरी तत्कालै शोमा बोलिएको कुरा सच्याउँछन् । आफूले कुमा सागरको निकै सम्मान गर्ने, उनको कन्र्सटमा सहभागी भएको र उनी अहिलेको पुस्ताको निकै प्रिय गायक रहेको भन्दै उनलाई सम्मान गर्ने बताउँछन् ।
उक्त पोडकाष्टमा सजन, उत्सव, सुजनले सुशान्तसँग लामो कुरा गरेका छन् । अहिले असुरक्षा र गल्ती महसुस गरेपछि पोडकाष्ट हटाइएको सुशान्तले बताए । उक्त पोडकाष्टमा सजनले कसैलाई नियोजित रुपमा होच्याउन वा गाली गलौजका लागि भन्दा पनि व्यङ्ग्यका लागि नै व्यङ्ग्य गरेको देखिन्छ ।
तर, प्रशारण भएको दोस्रो दिन अर्थात २८ माघमै पोडकाष्ट विवादमा तानियो । पोडकाष्टमा कुमा सागरमाथि गरिएको कमेडीलाई लिएर नेवाः अभियान्ता बताउने रवि शाक्यले सजनले नेवा लवजमाथि खिसिट्युरी गरेको भन्दै उनलाई कारबाही गर्नुपर्ने माग गर्दै फेसबुकमा लेखे । त्यसपछि एउटा समूह सजनमाथि खनियो ।
सिधाकुराको सम्पर्कमा आएका सजन श्रेष्ठकाअनुसार पोडकाष्ट प्रशारण भएको दोस्रो दिन उनी कुुमा सागरकै प्रस्तुति ठमेलको एक क्लबममा लाइभ हेरिरहेका थिए । तर, उनलाई सामाजिक सञ्जालमा एक्कासी गालीको वर्षा हुन थाल्यो ।
त्यसपछि के भएको भनेर बुझ्दा रवि शाक्यले लेखेको पोष्ट देखेको र उनलाई तत्काल सम्पर्क गरेर यो विषय माफी माग्दै प्रष्ट्याएको सजन बताउँछन् ।
‘म कुमा सागरकै प्रस्तुति हेर्दै थिएँ । एक्कासी मेरो सामाजिक सञ्जालमा ममाथि गालीको वर्षा सुरु भयो । त्यसपछि बुझ्दा म र कुमा सागरलाई जोडेर नेवा संस्कृतिमाथि बोलेको भन्दै कारबाही गर्ने भन्दै लेखिएको पाएँ,’ सजन भन्छन्, ‘त्यसपछि तुरुन्तै सम्पर्क पत्ता लगाएर रवि दाइलाई फोन गरँे । म पनि नेवार हो । मेरो कुनै त्यस्तो गलत नियत होइन छैन । तपाईंहरुलाई त्यस्तो लागेको भए क्षमा चाहन्छु । फेसबुकको पोष्ट हटाइदिनुस् भने ।’
सजनका अनुसार रविले सोही साँझ अर्थात २६ फागुनमा फेसबुकबाट सो पोष्ट हटाएका पनि थिए । तर, त्यो कुराकानीको छैटौँ दिनपछि अर्थात फागुन ४ मा एक्कासी पुनः सो विवाद बल्झियो । सजनका अनुसार यस अघि हटाइएको पोष्ट रविले पुनः शेयर गरेर आफूले भनेको सजन लगायतले नमानेको र कारबाही गर्नुपर्ने आशयको पोष्ट लेखे । लगत्तै प्रहरीमा उजुरी दिन रवि र उनको समूह पुगेको सजन बताउँछन् ।
सिधाकुरासँगको कुराकानीमा भने यो विषयमा रवि शाक्य पन्छिन खोजे । घटनाको सुरुवातकर्ता रहेका उनी अब जे गर्छ समुदायले गर्छ भन्दै कुरा गर्न खासै रुचाएनन् । ‘यो विषय अब समुदायको भइसक्यो । म अब बोल्न मिल्दैन मलाई नसोध्नुस् है’ रविले भने । तर, यो विषय उठान गरेर समाजिक सञ्जालमा छताछुल्ल जातीय कुरा गर्ने तपाईं हो नि ? भन्ने प्रश्नमा उनले ‘त्यो जे भएपनि अब आफू यसबारे नबोल्ने र भक्तपुरकै समूदायको संगठनलाई सोध्न उनले आग्रह गरे । ’
प्रहरीमा सजन लगायत विरुद्ध निवेदन गर्न आफू अग्रपंक्तिमा नलागेका भन्दै उनी प्रश्नबाट भाग्न खोजे । ‘नेवा संघ संस्थाले भनेपछि म सदस्यको रुपमा सहभागी हुन गएको हुँ । म आफैँ निवेदन लिएर गएको होइन,’ आफूलाई अभियन्ता बताउने शाक्यले भने । आफूले यस सम्बन्धमा एक भिडियो सामाजिक सञ्जालबाट शेयर गरेर मौन बसेको पनि उनले बताए ।
यता सजनले भने आफूले जातीय रुपमा कसैलाई पनि तलमाथि गर्न यस्तो नबोलेको र यसबारेमा पटक–पटक माफी माग्दा पनि झनै असुरक्षा महसुुस गरेको बताए ।
सामाजिक सञ्जालमा आफूले निकै तल्लो स्तरको लान्छना भोगिरहेको भन्दै सजनले परिवारका सदस्यसमेत असुरक्षित हुनेगरी डर र धम्की आइरहेको बताए ।
‘मैले माफी मागिसकेको छु । पोडकाष्ट हटाइसकिएको छ । कानुनी प्रक्रियामा गए म त्यसलाई सघाउँछु तर म सामाजिक रुपमा मलाई निकै असजिलो भइरहेको छ ।’
सजनले आफूले कुमा सागरसँगै यस विषयमा कुरा गर्न चाहेको भए पनि उनले समय नदिएकोमा चिन्ता व्यक्त गरे ।
‘विषय र विवाद भए पनि हाम्रो र कुमा सागरको हुनुपर्ने हो । कुमा सागरले केही भनेका छैनन् । तर, उसको नाम लिएर अरु मानिसहरु हामीविरुद्ध लागेका छन् ।’
रवि शाक्यले कारबाहीको माग गरेका पोडकाष्टका सञ्चालक सुशान्त प्रधानले पछिल्लो घटनाले दुःखी भएको बताए । सो पोडकाष्टमा आफूहरुले गल्ती नगरे पनि शो हटाएको, माफी मागेको तर समस्या समाधान हुने भन्दा पनि झनै बल्झिएको बताए । घटनालाई जातीय र साम्प्रदायिक रुप दिएको भन्दै उनले यसलाई रोक्न माग गरे ।
‘हामीले पोडकाष्टमा गरेका कुरा एउटा हाँस्य कलाकारले बोल्न हुन्थ्यो हुँदैन थियो । यस अघिको अभ्यास हेरौँ,’ सुशान्त भन्छन् ‘तर, पनि हामीले विवाद भएपछि शो हटाएका छौँ । माफी मागेका छौँ तर समस्यालाई झनै अनेक रङ्ग दिएर बल्झाउने काम भएको छ ।’
आफूहरु पनि नेवा समुदायकै भएको भन्दै प्रधानले यो घटनालाई लिएर गरिएको जातीय राजनीतिले दुःखी बनेको बताए ।
सजनका नजिकका साथीहरुका अनुसार यो घटनामा रवि शाक्यको भूमिका शंकास्पद देखिएको छ । गल्ती महसुस गरेर माफी माग्दा पनि उनले कहिले भक्तपुरको समुदाय, कहिले बनेपाको समुदाय त कहिले काठमाडौँको समुदायले चासो राखेको र यस विषयमा बोल्न भनेको भन्दै धम्क्याईरहेका छन् ।
‘रविलाई फोन गर्दा अब यो विषय सकियो भन्छन् । तर, फेरि मलाई फोन गरेर सजनको विषयमा किन बोल्न छोडेको भनेर मलाई धेरै ठाउँबाट फोन आयो । अब बोल्नुप¥यो भन्छन्,’ घटना नजिकबाट नियालीरहेका ति साथीले सिधाकुरासँग भने ।
सजनको परिवारलाईको बलात्कार धम्की
झण्डै एक सातादेखि कुमा सागरको नाम लिएर सजन, उत्सव र सुशान्तलाई सामाजिक सञ्जालमा खेदो खनिएको छ । रवि शाक्यको समूहले कुमा सागर सजनहरुको पोडकाष्टको अभिव्यक्तिको विरुद्धमा रहेको प्रचार गर्दै सञ्जालमा खेद जनाई रहेका छन् ।
घटना यतिसम्म जटिल बन्दैछ कि सजनको परिवारको फोटो सामाजिक सञ्जालमा राखेर उनीहरुलाई सामूहिक बलात्कार गर्नेसम्मको धम्की अपरिचत पोष्टहरुबाट आएको छ ।
आफ्नो परिवारको फोटो राखेर आपत्तिजनक पोष्टहरु सामाजिक सञ्जालहरुमा पोष्ट भएको र त्यसको विरुद्धमा आफूले प्रहरीसमक्ष निवेदन गरेको सजन बताउँछन् ।
रवि शाक्यको अभियानमा साथ दिदै नेवाः कलाकः मि दबूले समेत आपत्ति जनाएको छ । उक्त संस्थाले एक विज्ञप्ति जारी गर्दै सजन लगायतले नेवारी लवजको खिल्लि उँडाएकोमा कारबाही माग गरेको छ ।
तर, बेपत्ता छन् कुमा सागर
यो सबै घटनाको केन्द्रमा छन् गायक कुमा सागर । उनको नाममा नेवा अभियन्ताहरुले कमेडियनहरुलाई तल्लो स्तरको गाली गलौज गर्दै कानुनी लडाइँसम्ममा पुगिसकेका छन् । तर, कुमा सागर मौन छन् ।
कुमा सागरसँगै कुरा गर्न पटक पटक सम्पर्क प्रयास भएको सजन र सुशान्तले सिधाकुरालाई बताए ।
धेरै प्रयासपछि उनको एक जना म्यानेजरसँग कुरा भएको र कुमा सागर आफूहरुको पछि नलागेको ति म्यानेजरले बताएको सजन र सुशान्तले बताए । ‘कुमा सागरको म्यानेजरसँग कुरा हुँदा कुमा सागर यो विषयमा जानकार नै नरहेको र उ कुनै पनि मुद्दा मामिलाको पक्षमा नरहेको बताए’ सजन र सुशान्तले सिधाकुरासँग भने ।
त्यसो त कुमा सागरलाई अपमान भएको भन्दै एउटा समूदाय नै विरुद्धमा लागेको तर कुमा सागर नबोलेको भन्दै सजनले सोमबार एक सन्देश कुमा लाई सार्वजनिक रुपमा प्रेषित गरेका छन् ।
सो सन्देशमा उनले आफूहरुले नियोजित रुपमा यस्तो नगरेको भन्दै आफूहरुमाथि भइरहेको आक्रमणको बारेमा बोलिदिन आग्रह गरेका छन् । ‘अब विषय कमेडियन र गायक कुमा सगरको मात्रै रहेन, यो वृहत रुपमा जातीय रङ्ग दिएर फैलाइँदैछ । हामीले गरेको गल्तीमा क्षमा चाहन्छौँ । तर, यसमा कुमा सागर बोल्नुपर्छ । यसलाई रोक्नुपर्छ,’ सजनले भनेका छन् । यस विषयमा कुरा गर्न सिधाकुराले कुमा सागरलाई पटक पटक सम्पर्क प्रयास गरेको थियो । तर, उनी सिधाकुराको सम्पर्कमा आएनन् ।
गल्ती गरे तर यो विवाद यहीँ रोकौँः नेवा समुदाय
यो घटनालाई जातीय रुपमा अनर्गल र उत्तेजित र भ्रामक प्रचार नगर्न नेवाःदे दव्ूले सरोकारवाला सबैलाई आग्रह गरेको छ । सो संस्थाका अध्यक्ष पवित्र बज्राचार्यले यो विषयलाई छलफल र संवादको माध्यमबाट समाधान गर्न आफूहरु लागेको बताए ।
‘यो विषयलाई थप उत्तेजित नबनाउन सबै पक्ष लाग्नु पर्छ । म सबैलाई यही अनुरोध गर्छु,’ बज्राचार्यले सिधाकुरासँग भने, ‘यसलाई संवादबाटै हल गरिनुपर्छ । म दुवै पक्षसँग बसेर समस्या समाधान गर्न पहल गर्दैछु ।’ उनले यो विषयलाई लिएर साम्प्रदायिकता प्रर्दशन नगर्न र उत्तेजित अभिव्यक्ति नदिन सबैलाई आग्रह गरे ।
दवुका महासचिव सत्यनारायण डंगोलले पनि यो विषय अब छलफलबाटै टुंगिने बताउँछन् । सुशान्त र सजनले जानेर वा अञ्जानमा गरेको गल्तिले नेवार समुदाय दुःखी भएको महासचिव डंगोल बताउँछन् ।
‘योे विषयमा अब पहिलो गल्ति गर्ने पक्षले माफी मागिसकेको छ । अहिले सामाजिक सञ्जालमा फेक एकाउण्ट बनाएर भइरहेको गतिविधि गलत छ’ महासचिव डंगोलले भने, ‘तर, अब दुवै पक्ष बसेर समाधान खोज्ने हो र सबैले सिक्नु पनि प¥यो की कुनै पनि समुदाय र जातिप्रति घृणा द्वेश फैलाउने काम जान अञ्जानमा कसैले नगरौँ ।’
तेस्रो पक्ष हाबी भयो
सजन र कुमा सागर विवादमा उनीहरु भन्दा पनि तेस्रो पक्ष हावी भएको देखिएको नेपाल चलचित्र कलाकार संघले जनाएको छ । विवाद सुरु भएदेखिको घटनालाई नजिकबाट नियालेको संघका महासचिव एवम् नायक सबिन श्रेष्ठले बताए ।
‘कुनै पनि समुदायलाई कलाकारको कलाकारिताका कारण चोट पर्न हुन्न तर सो विषयमा कलाकारले क्षमायचना गरिसकेको अवस्थामा पनि उनलाई खेद्नु गलत हो,’ श्रेष्ठ भन्छन्, ‘यहाँ त कलाकार श्रेष्ठको परिवारका सदस्यलाई समेत असुरक्षाको वातावरण बनाइएको छ । यो गलत भइरहेको छ ।’
नेवाः समुदाय, कालाकार सजन र गायक कुमाःसागर एकै ठाउँमा बसेर समस्याको समाधान खोज्नु अपरिहार्य भएको सबिन बताउँछन् । उनले यो प्रकरणमा खास मान्छेहरु भन्दा बढी तेस्रो र चासो नभएका मानिसहरु घटना उचाल्न लागेको जस्तो देखिएको बताए ।
घटनालाई समाधान गर्नका लागि आफूले सबै पक्षसँग छलफलको तयारी गरिरहेको पनि उनले बताए । सजनको व्याङ्ग्य नियोजित रुपमा गरेको जस्तो नदेखिएको उनको भनाई छ । साथै उनले कुनै पनि जात र धर्मको आस्थाप्रतिको सम्मानमा जवाफदेहि हुनुपर्नेमा ध्यान दिन कलाकारहरुलाई आग्रह पनि गरे ।