६ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाल र राष्ट्रपपति सी बीच हाङ्चाउ सहरमा भेटवार्ता भएको हो ।
संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गर्न अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्ड उतैबाट चीन प्रस्थान गरेका थिए । १९औं एसियन गेमको उद्घाटन समारोमा सहभागी हुन चीनका राष्ट्रपति सी पनि हाङ्चाउ पुगेका छन् । सोही क्रममा उनीहरुबीच भेटवार्ता भएको हो ।
एक हप्ता चीनमा रहने प्रचण्ड हाङ्चाउबाट बेइजिङ जाने छन् । बेइजिङमा चीनका प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । बेइजिङमा यही सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । उक्त भेटावार्तापछि प्रधानमन्त्री दाहालले चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नेछन् । सो क्षेत्रमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणाली बारेमा पनि जानकारी लिनेछन् । महानगरपालिकाले कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेकाले सो विषयमा अध्ययन अवलोकन गर्ने कार्यक्रम राखिएको हो ।
यस भ्रमणको कार्यसूचीअनुसार प्रधानमन्त्री दाहलले चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यसूची छ । यसैगरी उनले चीनस्थित नेपाली राजदूताबासले आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्नेछन् । सम्मेलनमा नेपाल र चीनका उद्योगी व्यवसायीहरुको सहभागिता रहने छ । सो अवसरमा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै लगानी प्रवर्द्धनका लागि आवश्यक मार्ग प्रशस्त गरिने छ । सम्मेलनमा सहभगिताका लागि नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वमा नेपालका उद्योगी व्यवसायीहरु पनि पुगेका छन् ।
त्यसपछि प्रधानमन्त्री दाहाल नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन् । तिब्बतमा रहँदा पनि उनले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० मा नेपाल फर्कनेछन् ।