काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अटेरी गरी न्युरोडको पार्किङ निषेधित क्षेत्रमा पार्क गरिएका सवारी उठाउन थालेको छ । न्युरोडमा मंगलबारदेखि लागू भएको नो पार्किङ लेखिएको स्थानमा पार्क गरिएका सवारीलाई कारवाही गरिएको हो ।
काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध व्यापारीहरु आन्दोलित भएका थिए ।
उनीहरुले पहिले पार्क गर्दै आएको स्थानमा सवारी पार्क गर्न पाउनुपर्ने माग राखेका थिए । साथै प्रदर्शनको क्रममा उनीहरुले आफूहरुले सवारी पार्किङ गर्दै आएको स्थानमा पार्किङ गर्न नछोड्ने अडान राखेका थिए । अहिले महानगरले निषेध गरिएको क्षेत्रमा पार्क गरिएका सवारी साधन उठाएको हो । बिहान पनि न्युरोड क्षेत्रमा पार्किङ गरिएका सवारी साधन महानगर प्रहरी टोलीले हटाएका थिए ।
महानगरले न्युरोडको पार्किङको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइएको जानकारी दिएको छ । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा पार्किङ निषेध गरिएको छ । महानगरले न्युरोड क्षेत्रका सडकमा ‘नो पार्किङ’ लेखिएको संकेत चिह्न राखेको छ ।