२७ भदाै - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले रेडि ट्रेडले मात्र ३ सय २ किलो सुन ल्याएको बताएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै सुन तस्करी प्रकरणमा दोलखाका दिलीप भुलेजको नाममा दर्ता भएको रेडी ट्रेड लिंक प्रालि मुख्य रहेको र उक्त कम्पनी मातहत रहेर ३ सय २ किलो सुन नेपाल भित्रिएको सीआईबीले बताएको छ ।
त्यस्तै ६० किलो सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको छ । जसमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार रहेका छन् ।
पक्राउ पर्नेमा २३ जना नेपाली छन् भने ९ जना विदेशी रहेका छन् । फरार १८ मध्ये १४ जना विदेशी छन् भने ४ जना नेपाली रहेका छन् ।
सुरुमा राजस्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणको अनुसन्धान गरेको भएपनि नेपाल सरकारले पछि उक्त प्रकरणको अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको थियो । उक्त प्रकरणको अनुसन्धान टुङ्ग्याउँदै सीआईबीले आज सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँदै छ ।
अमला रोका माओवादी केन्द्र निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्ष हुन् । उनी सुन तस्करीका नाइके दावा छिरिङकी श्रीमतिसमेत हुन् ।