काठमाडौं उपत्यकामा अब सार्वजनिक सवारीका रुपमा द्रुत बस सञ्चालन हुने भएको छ । असोज ३ गतेबाट भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको लैनचौरसम्म द्रुत बस सञ्चालनका लागि छुट्टै लेनको व्यवस्था गरिएको छ ।
द्रुत बसका लागि सडक विभागले रातो रङ पोतेर लेन छुट्ट्याउन थालको हो । यो लेनमा दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछ ।
उक्त समयमा द्रुत सेवा अन्तर्गत सञ्चालित सार्वजनिक सवारीले एकतर्फी सडकमा पनि दुबै तर्फबाट गुड्न पाउने छन् । यस सेवा सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई २५ वटा ठुला बसको व्यवस्थापन गर्ने जिम्मेवारी दिएको छ ।
उक्त द्रुत बसका निम्ति छुट्टयाएको लेनमा निजी गाडीहरू गुड्न पाउने छैन भने कार्यालय समयमा उक्त लेनमा निजी गाडी गुडाउनेलाई ट्राफिक प्रहरीले कारबाही गर्न सक्ने छ।
पहिलो चरणमा सूर्यविनायक–रत्नपार्क क्षेत्रमा २५ वटा ३९ भन्दा बढी सिट क्षमता भएका बस बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन गरिनेछ । द्रुत बस जहाँ पायो त्यही रोकिने छैनन् ।
दु्रत बसका लागि १९ वटा बस स्टप तोकिएका छन् । सूर्यविनायक, थिमि, चारदोबाटो, कौशलटार, जडीबुटी कोटेश्वर, शान्तिनगर, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, भद्रकाली, रत्नपार्कलगायत क्षेत्रमा स्टपहरू बनाइएको छ ।
दु्रत बस स्टपहरूमा रातो रङले मार्किङ गरिनेछ । यस्तै द्रुत बसका लागि छुट्टै ट्राफिक प्रहरी राखिने छ । दु्रत बस अन्य सार्वजनिक सवारीसाधन जसरी रोकिने छैनन् । रातो बत्तीमा पनि द्रुत बस रोकिने छैनन् ।