सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर ३ दिनसम्म मरणासन्न हुनेगरी कुटपिट गरेको आरोपमा पक्राउ परेका ७ जनाविरुद्ध प्रहरीले शरीर बन्धक सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ ।
लेनदेनको विषयलाई लिएर जिल्लाको कमलामाई नगरपालिका–४ की शारदा थापामाथि बेहोस हुनेगरी कुटपिट गरेको आरोपमा पीडितका श्रीमान् सन्तोष थापासहित पक्राउ परेका ७ जनामाथि शरीर बन्धकको कसुरमा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति लिएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनका श्रीमान सन्तोष थापा, स्थानीय ईश्वरकुमार पोखरेल, मिलन देवकोटा, निकेश ढकाल, लक्ष्मी पोखरेल, विष्णु ढकाल र एकबहादुर खड्कालाई पक्राउ गरेको थियो ।
उनीमाथि अभ्रद र अमानवीय व्यवहार भएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, सिन्धुलीबाट प्रहरी पुग्दा उनलाई पोलमा बेहोस अवस्थामा भेटिएको थियो। उनलाई प्रहरीले उद्धार गरी सिन्धुली अस्पताल पुर्याएपछि होस खुलेको थियो । उनलाई सेफ होममा राखेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा शारदाका श्रीमान सन्तोषले जग्गा कारोबारका लाागि स्थानीयसँग ऋण लिएको र उक्त पैसा तिर्न नसक्दा परिवारमा झगडा गरेपछि शारदा डिभोर्स गर्ने चरणमा पुगेकी थिइन् । जसका लागि परामर्शका लागि अदालत पुगेकी उनलाई स्थानीयले अपहरण गरेर घरमा ल्याएर श्रीमान श्रीमति दुवैलाई पोलमा बाँधेर कुटपिट गरेका थिए ।
सुरुमा श्रीमान श्रीमति दुवैलाई कुटपिट गरेपनि पछि भने श्रीमति एक्लैलाई कुटपिट गरेका थिए। यो घटनामा पक्राउ परेकामध्ये कोही स्थानीय स्तरमा राजनीतिमा संलग्न व्यक्तिसमेत रहेको प्रहरीले जनाएको छ ।