वीरगंज । वीरगंज महानगरका मेयर राजेशमान सिंहको किर्ते नागरिकता छानबिन गर्न सचेत नागरिक समाज पर्साले जिल्ला प्रशासन कार्यालय पर्सामा धर्ना दिएको छ । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले रुबिना श्रेष्ठ नामकी युवतिलाई आफ्नो छोरी बनाएर नागरिकता बनाईदिएको प्रहरीमा जाहेरी परेको लामो समयसम्म पनि छानबिनमा ढिलाई भइरहेकाले धर्ना, जुलुस लगायतको कार्यक्रम गरिएको सचेत नागरिक समाज पर्साले जनाएको छ ।
सचेत नागरिक समाजले जिल्ला प्रशासन कार्यालयको मुख्यद्वारमा दिएको धर्नामा विभिन्न राजनीतिक दलका सर्वदलीय नेता तथा कार्यकर्ताहरुको पनि सहभागिता थियो ।
धर्नामा वीरगंज २० का वडाध्यक्ष रामकिशोर सिंह पराग पनि सहभागी थिए । उनले हुँदै नभएको छोरीलाई मेयर सिंहले नागरिकता दिलाएको विषय सोचनियरहेको बताए । यस्तै जनमतपार्टीका नेता मुकेश द्विवेदीले पदमा होस वा समान्य नागरिक कानुन सबैका लागी बराबर भएकाले कानुन मिच्नेले कार्वाही भोग्नुपर्ने बताए ।
धर्नामा जनमत पार्टीका केन्द्रिय सदस्य शशिकपुर मिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरगंज महानगरका अध्यक्ष जलेश्वर सरार्फ, जनमतका मुकेश द्विवेदी, नेपाली कांग्रेसका पर्सा क्षेत्र नं.२ का क्षेत्रीय सभापति मोहमद साबुद्दिन, नेकपा एमालेका प्रदेश सदस्य लियाकत अलि, संजय सिंह लगायतको उपस्थिति रहेको थियो ।