काठमाडौँ । प्रमुख ट्रेड युनियनहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागनका कर्मचारीमाथि आक्रमण गर्ने प्रहरीलाई कारवाही नगरे देशभरका अध्यागमनको सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।
आइतवार विभिन्न दलसम्बद्ध पाँच प्रमुख ट्रेड युनियनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा संलग्न प्रहरी कर्मचारीलाई तीन दिनभित्र कारवाही गर्न माग गरेका हुन् ।
गृहामन्त्रीलाई सम्बोधन गरी मुख्य सचिव र गृह सचिवलाई बोधार्थ दिएको ज्ञापनापत्रमा प्रहरीलाई कारवाही नभए अध्यागमन कार्यालयलगायत देशव्यापी रुपमा कार्यालयको सेवा वन्द गर्ने चेतावनी दिएका हुन् । साथै तीनदिन भित्र कारवाही नभए आन्दोलनका थप कार्यक्रम घोषणा गर्न वाध्य हुने जनाएका छन् ।
ज्ञापनपत्रमा भनिएको छ, ‘हालै भएको घटनाप्रति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा क्रियाशील ट्रेड युनियनको तर्फवाट २०८० माघ १२ गते प्रेषित विज्ञप्तिमा कालोपट्टी वाँधी सेवा प्रवाह गरिरहेको विरोधको कार्यक्रमप्रति राष्ट्रियस्तरका ट्रेड युनियनका तर्फवाट समर्थन जनाउँदै उक्त घटनामा संलग्न प्रहरी कर्मचारीलाई तीन दिनभित्र कारवाही नभएमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयलगायत देशव्यापी रुपमा कार्यालयको सेवा वन्द गर्नेलगायतका आवश्यक आन्दोलनका थप कार्यक्रम घोषणा गर्न हामी वाध्य हुने व्यहोरा यसै ज्ञापनपत्रमार्फत जानकारी गराउँदछौं।’
गत माघ ८ गते विमानस्थल भित्र चेकजाँजका क्रममा भनाभन भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अधिकृत गोगन वहादुर हमाल र अध्यागमन अधिकृत छायालाल मोक्तान प्रहरीबाट कुटिएका थिए ।
हेर्नुहोस् ज्ञापनपत्रको पूर्णपाठ: