काठमाडौँ । युरोप पठाउने भन्दै ६ सय भन्दा धेरै सर्वसाधारणबाट करौडौँ रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुर कोन्जोसोम घर भइ हाल ललितपुरको इमाडोल बस्ने ३२ वर्षीय विकास वाईवा भन्ने सुजन तामाङलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
तामाङले काठमाडौँको बालाजु चोकस्थित यूरो विङ्स एजुकेसन कन्सल्टेन्सी संचालन गरी माल्टा, पोल्याण्ड, क्यानडा र क्रोसिया लगायतका देशहरुमा पठाईदिन्छु भन्दै ६ सय भन्दा धेरै युवाहरुबाट करौडौँ रकम ठगी गरेको डिएसपी अनिल घिमिरेले जानकारी दिए ।
उनले ठगी गरेको रकमबाट ४ करोड व्यक्तिगत ऋण तिरेको, राप्ती मेनपावर बसुन्धारामा ५० लाख लगानी गरेको, ३५ लाखको हुण्डाई क्रेटा गाडी खरिद गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
बैदेशिक रोगजार विभागका अनुसार उनीविरुद्ध हालसम्म ७० जनाको मुद्धा दर्ता भइ रु ३ करोड २५ लाख २२ हजार रुपैँया बिगो देखिएको र अन्य मुद्धा दर्ताका क्रममा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनलाई पक्राउ गरि आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको छ ।