काठमाडाैँ । प्रहरीले भक्तपुरमा मृत अवस्थामा फेला परेका गोपाल प्रसाद ढकालको हत्या आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै ढकालको हत्या आरोपमा भक्तपुर चागुनारायण घर भएका सन्तोष सुवाललाई मृतकको मोवाईलसहित काभ्रे मण्डनदेउपुरबाट पक्राउ गरिएको जनाएको हो ।
फागुन १० गते तेह्रथुम घर भइ हाल भक्तपुर सिपाडोल बस्ने गोपाल प्रसाद ढकालकी श्रीमती रेनु ढकालले आफ्नो श्रीमान हराएको र श्रीमान चाहिए सुर्यविनायक जंगलमा दुई लाख लिएर आउनु भनि फोन आएको भन्दै प्रहरी वृत्त जगातीमा जानकारी गराएकी थिइन् ।
निजको खोजतलास गर्दै जाँदा फागुन ११ गते सुर्यबिनायक ८ स्थित रोधन बस्नेतको गोठमा गोपाल प्रसाद ढकाल मृत अवस्थामा फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए । त्यसपश्चात अनुसन्धान गर्दा सन्तोष सुवाल उक्त घटनामा संलग्न भई फरार रहेको खुल्न आएकाले खोज तलास गर्दै जाँदा काभ्रेबाट पक्राउ गरिएको उनले जानकारी दिए ।