पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले तीनदेशका नागरिकहरूलाई ठगी गर्दै आएका तीनजना चिनियाँ नागरिकलाई पक्राऊ गरेको छ ।
कल सेन्टर स्थापना गरी कर्मचारीहरु राखेर नेपाल, भारत र पाकिस्तानका नागरिकहरूलाई सामाजिक सञ्जाल तथा टेलिफोन मार्फत ठगी गर्दै आएका ३३ वर्षीय लिऊ ग्यू साइ, २६ वर्षीय बोहान भिलाङ, ३६ वर्षीय छिङ्ग छावो, ३४ वर्षीय झान झिलियोङ र २२ वर्षीय सी हुवा हुवान पक्राउ परेका हुन् ।
वीरगंज महानगरपालिका–१५ स्थित नन्दु पटेलको घरमा सिङ्गो फ्ल्याट नै भाडामा लिएर अनलाइन लट्री, सपिङ्ग जस्ता विभिन्न प्रकारका प्रलोभन देखाई नेपाली तथा विदेशीहरुबाट ठगी गर्ने गरेको सूचनाको आधारमा पर्सा प्रहरीले पाँचै जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको साथबाट सीपीयूसहित कम्प्युटर डेस्कटप एक सय २० थान, मनिटर १ सय १८ थान, मोबाइल ३५ थान, ल्यापटप ४ थान, प्रिन्टर १ थान, किबोर्ड, इन्टरनेट स्विच ५ थान, वाईफाई सेट २ थान, भारतीय सिम १३ थान, मिनि इनभरटर २ थान, बिआर ०१ सिएक्स ५७९२ नम्बरको गाडी, प्र.२–०३–०११ प् १३६७ नम्बरको एक मोटरसाइकल सहित ४३ हजार नेपाली रुपैयाँ, ३५ सय कम्बोडियन रुपैयाँ र ३ थान पासपोर्ट बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बताए ।
पक्राउ परेका चिनियाँ नागरिकहरूलाई अभद्र व्यवहारमा मुद्दामा म्याद थप गरी विस्तृत अनुसन्धानपछि अन्य मुद्दा चलाउने बताइएको छ ।