काठमाडौं । विशेष अदालतले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश दिएको छ । पूर्वसांसद समेत रहेका तामाङलाई विषेश अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर गर्दै बिगो बराबरको जरिवाना पनि तोकेको छ ।
साथै अदालतले उनकी पत्नी सिर्जना तामाङलाई एक वर्ष ६ महिना कैद र एक अर्ब ३ करोड रुपैयाँ बिगो सहित त्यति नै जरिवाना तोकेको छ ।
यस्तै इच्छाराजका मामा ससुरा केवशराज श्रेष्ठलाई पनि डेढ वर्ष कैद, २५ करोड ६५ लाख बिगो र त्यति नै बराबरको जरिवाना तोकेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।
साथै विशेष अदालतले इच्छाराज, पत्नी, दुई छोरीहरु, इच्छाराजका मामाससुरा केशवलाल श्रेष्ठ, केशवकी पत्नी मीनाको नाममा रहेको सम्पत्ति जफत गर्न पनि आदेश दिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले इच्छाराजसहित उनकी पत्नी सिर्जना, दुई छोरी, अनि मामाससुरा केशवराज विरुद्ध २०७९ भदौमा सम्पत्ति शुद्धिकरणको आरोपमा मुद्दा दायर गरेको थियो ।