काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विस्तार गरिरहेको न्युरोडको फुटपाथको काममा स्थानीयले अवरोध गरेका छन् । मङ्गलबार सुरु भएको फुटपाथको काम रोक्न स्थानीयहरू शुक्रबार बिहानै देखि न्युरोड क्षेत्रमा विरोधमा उत्रिएका हुन् ।
स्थानीयले अवरोध सुरु गरेपछि अहिले त्यहाँ सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । महानगरले क्षेत्राधिकार नाघेर फुटपाथ विस्तर थालेको भन्दै गत महिना सडक विभागले विस्तार थालिएको फुटपाथको सामान जफत गरेको थियो ।
फुटपाथ विस्तारमा महानगर र विभागको असमझदारी चर्किए पछि महानगर फुटपाथ विस्तार गर्न पाउनु पर्ने भन्दै उच्च अदालत पुगेको थियो । अदालतले फुटपाथ विस्तार गर्न पाउने अन्तरकालीन आदेश दिए पछि महानगरले अदालतको आदेश आए लगत्तै फुटपाथ विस्तार थालेको थियो ।
महानगरले फराकिलो फुटपाथ त्यस क्षेत्रमा चाहिएको दाबी गरिरहेको छ भने स्थानीयबासीले सडक सानो हुने र न्युरोडको व्यापारमा असर पुग्ने भन्दै सडक मासेर फुटपाथ विस्तार गर्न नदिने अडानमा छन् ।