वीरगंज । वीरगंजमा प्रदर्शनकारी र प्रहरीबिचको झडपको समाचार संकलनका लागि पुगेका पत्रकारमाथि दुर्व्यवहार भएको छ ।
सरस्वतीको मूर्ति सेलाउने विषयमा रौतहटमा भएको विवादपछि झडप भएको थियो । त्यसपश्चात उक्त विवादले पर्साका विभिन्न स्थानमा समेत उग्र रुप लिएको थियो । सोही क्रममा प्रदर्शनकारी र प्रहरीबिच भएको झडपको रिर्पोटिङ गर्न सोमबार साँझ छपकैया पुगेका वीरगंजका पत्रकार सोरभ साहमाथि आक्रमण भएको हो ।
वीरगंज बन्द हुनुअगावै भएकाे साे झडपबारे रिपोर्टिङ गर्न पुगेका वीरगंजबाट संचालिक युथ अफ वीरगंजका पत्रकारमाथि हातपात भएको हो । अराजक भिडले उनको मोटरसाइकलमा टाँसेको संस्थाको लोगो हेरेर उनीमाथि आक्रमणमा उत्रिएको र उनको मोटरसाइकल नालामा फालेर माथिबाट ढुंगा प्रहार भएको नेपाल पत्रकार महासंघ पर्साले जनाएको छ । घटनाको तस्विर तथा भिडियो खिच्ने क्रममा पत्रकार साहको मोबाइल समेत फुटाएकाे महासंघले जनाएको छ ।
मंगलबार एक विज्ञप्ती निकाल्दै पत्रकार महासंघ पर्सा शाखाले पत्रकार साहको मोटरसाइकलमाथि पूर्णरुपमा क्षति पुर्याएको बताएको छ । संचारकर्मीको साधनलाई नियोजितरुपमा नष्ट गरिने अराजक गतिविधीप्रति आफूहरुको गम्भिर ध्यानाकर्षण भएको महासंघले जनाएको छ । त्यस्तै उक्त घटनामा संलग्नमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन र साहको क्षति भएको साधनको क्षतीपूर्तिको व्यवस्था गर्न पत्रकार महासंघ पर्सा शाखाले माग गरेको छ ।