पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा एकै घरमा हजुरबुबा र नातिको हत्या भएको छ।
सुस्ता गाउँपालिका –३ मर्चहवा निवासी ६५ वर्षीय यक्षलाल चमार र उनका नाति ११ वर्षीय गौचरण चमारको गयराती सुतिरहेकै अवस्थामा हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार उनीहरुको शव घरदेखि केही मिटर दुरीमा रहेको छाप्रो बाहिर फेला परेको हो । हजुरबुबा र नातिको शव फेला परेसँगै स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।
नाति र बाजे दुवैको शरीरमा धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ । बोहोराका छोरा रोजगारीका लागि भारतमा रहेको र बुहारी पनि एक छोरा र एक छोरीलाई लिएर एक महिनाअघि नै भारत माइत गएको स्थानीयको भनाई छ ।
छोरा बुहारी पनि नभएपछि नाति र वृद्ध बाजे एकान्तको घरमा बस्दै आएका थिए । त्यहि घरमा उनीहरुको हत्या भएको प्रहरीको निष्कर्श भएपनि घटनामा संलग्न कोही पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि घटनास्थलमा ठूलो संख्यामा प्रहरीहरु परिचालन गरिएको प्रहरीले जनाएको छ ।
फाल्गुन १, २०८० ११:१७ मा प्रकाशित