काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयान प्रमाणिकरणका लागि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ लगिएको छ । आइतबार बयान सकिएको लामिछानेको बयान प्रमाणिकरणका लागि जिल्ला सरकारी वकिल कार्यालय पुर्याइएको हो ।
काठमाडौँको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धान गर्न बिहिबार काठमाडौँ ल्याइएका उनीसँग शुक्रबार र आइतबार बयान लिइएको हो । आइतबार बयान सकिएको उनको बयान प्रमाणिकरणका लागि सोमबार सरकारी वकिल कार्यालय पुर्याएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा दुई दिन देखि जारी बयानका क्रममा लामिछानेमाथि कालीमाटीको स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित रहेर ६० वटा प्रश्न सोधिएको थियो । आजको उनको बयानको रुजु र प्रमाणिकरण हुने एक अधिकारीले बताए ।
लामिछानेलाई सहकारी ठगी आरोपमा अनुसन्धान गर्न कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो । त्यसपछि उनीविरुद्ध संगठित अपराध र सम्पत्ति सुद्धिकरणमा समेत अनुसन्धान भईरहेको छ ।
उनलाई कास्की जिल्ला अदालतले ५ पटक म्याद थप गरिसकेको छ । यो बिचमा उनीविरुद्ध रुपन्देही, चितवन र काठमाडौँबाट पनि पक्राउपुर्जी जारी भएको छ । उनलाई रुपन्देही लगेर बयान गराईसकिएको छ भने अहिले काठमाडौँमा बयानका लागि ल्याइएको छ । लामिछानेलाई काठमाडौंबाट पोखरा फर्काइने र त्यहाँबाट चितवन लैजाने तयारी छ ।