काठमाडाैँ । नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ‘पतञ्जली आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टर, धुलिखेल, काभ्रे’लाई कारवाही गर्न शिक्षामन्त्री सुमना श्रेष्ठले उपकुलपतिलाई पत्र लेखेकी छिन् ।
सो कलेजले चौथो ब्याचमा अध्ययनरत विद्यार्थीहरूलाई सरकारले तोके भन्दा बढी शुल्क लिएको, विद्यार्थीहरूलाई परीक्षामा प्रवेश रोक लगाएको, नियमित अध्यापन र प्रयोगात्मक कक्षा सञ्चालन नगरेको पाइएपछि मन्त्री श्रेष्ठले कारबाहीका लागि उपकुलपतिलाई पत्र लेखेकी हुन् ।
‘मन्त्रीज्यूले १५ दिन भित्र छानविन गरी दोषीलाई कानूनबमोजिम हदैसम्मको कारवाही गर्न तथा छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरूलाई पढ्न र परीक्षा दिन पाउने सुनिश्चितता गरी ३ दिन भित्र मन्त्रालयलाई जानकारी गराउन नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३ को दफा १५ को उपदफा (३) बमोजिम निर्देशन दिनुभएको हो।’, मन्त्रालय स्रोतले भन्यो।
विद्यार्थीहरुले कलेजले शैक्षिक भ्रमण शुल्क लिई शैक्षिक भ्रमण नगराएको, विश्वविद्यालयले तोकेको भन्दा बढी शुल्क लिएको तथा इन्टर्नसिप गरेबापत कलेजले दिनुपर्ने रकम नदिएको, विषयगत विशेषज्ञ शिक्षक नभएको कारण पठनपाठन ठप्प भएको भन्दै शिक्षा मन्त्रालयमा उजुरी गरेका थिए। उक्त विषय विश्वविद्यालयका जिम्मेवार अधिकारीलाई जानकारी गराउँदा पनि कुनै सुनवाइ नभएको भन्दै विद्यार्थीहरु बारम्बार शिक्षा मन्त्रालयमा गुनासो गर्न पुगेका थिए ।