काठमाडौँ । वरिष्ठ गायक तथा साहित्यकार योगेश वैद्यकोे गएराति निधन भएको छ । लामो समयदेखि मधुमेहबाट पीडित ७७ वर्षीय वैद्यकोे सुन्धारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा राति १२: ३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि केही समय नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान नक्सालमा राखिने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी दिइएको छ ।
करिब पाँच सय नेपाली गीत तथा झन्डै एक सयभन्दा बढी नेपाल भाषाको गीतमा स्वर दिनुभएका उनले पछिल्लो समय पक्षघातसम्बन्धी समस्या समेत झेलिरहेका थिए ।
गायक वैद्यको केही समयअघि मिर्गौलासमेत प्रत्यारोपण गरिएकामा केही दिनदेखि रुघाखोकीबाट ग्रसित थिए । विसं २००३ मा नरदेवीमा जन्मिएका उनको पहिलो रचना ‘कति प्यासी छ जिन्दगी’ बोलको नेवारी र ‘सपना भुलाई सारा’ बोलको गीत गीत निकै लोकप्रिय छन् ।
राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्ट प्राप्त गरेका साहित्यकार वैद्यका विभिन्न कृति समेत प्रकाशित छन् । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् ।
माघ ५, २०८० ०९:४४ मा प्रकाशित