काठमाडाैँ । अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जना भारतीय नागरिकको काठमाडौँबाट उद्धार भएको छ। ति भारतीय नागरिकहरुलाई मेक्सिकोको बाटो हुँदै अमेरिका लैजान काठमाडौँको होटलमा बन्धक बनाएर राखिएको अवस्थामा उद्धार गरिएको हो ।
उनीहरुसँग गिराेहले ४० देखि ४५ लाख भारतीय रुपैँया लिएर अमेरिका पुर्याउने भन्दै काठमाडौँको होटलमा बन्धक बनाएर राखेकाे काठमाडौँ प्रहरी परिसरले जनाएको छ । उक्त कार्यमा संलग्न ९ जनालाई काठमाडौँको विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले बताए । ९ जना मध्य एक जना नेपाली नागरिक रहेकाे उनले बताएका छन् ।
पक्राउ पर्नेमा भारतीय नागरिकहरु इन्द्रसिंह यादव, निकुन गुप्ता, चरनजित सिंह, अशोक कुमार, अब्दुल रहिम, मनिषकुमार मलहोत्रा, रवि नेवाडे र रामचन्द्र शर्मा रहेका छन् भने नेपाली नागरिकको प्रहरीले नाम खुलाएको छैन ।
पक्राउ परेका उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले नक्कली रबर स्टाम्प, बोर्डिङ पास पनि बरामद गरेको छ । उनीहरुले पीडितलाई यातना दिएर पैसा उठाउने गरेको पाइएको हाे ।