आइतबारबाट अन्तिम सुनुवाइको चरणमा रहेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा बिहिबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।
सन्दीपको तर्फबाट दुई जना वकिलले बहस गर्न समय अपुग भएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
सन्दीपविरुद्धको मुद्दामा आइतबारदेखि निरन्तर सुनुवाई हुँदै आएको हो । आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । त्यससँगै २ दिन निरन्तर सार्वजनिक बिदा परेकाले उक्त सुनुवाइले बुधबार निरन्तरता पाएको थियो । बुधबार पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
दुई दिनको सुनवाइमा वादी अर्थात जाहेरीकर्ताका तर्फबाट १० वकिलहरूले बहस गरेका थिए भने बुधबार प्रतिवादी सन्दीपका तर्फबाट मुरारी सापकोटाले बहस गरेका थिए ।
बिहीबार प्रतिवादीकै तर्फबाट अधिवक्ताद्वय मुरारी सापकोटा र रोशनी पौडेल तथा वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठलगायतले बहस गरेका थिए ।
दुवैतर्फका वकिलहरुले बहस सकेपछि पुनः वादीपक्षका वकिलहरूले जवाफी बहस गर्नेछन् ।त्यसपछि भने न्यायाधीशले फैसला सुनाउनेछन् ।