उदयपुर । जनयुद्ध दिवसका अवसरमा बिदा दिने संघीय सरकारको निर्णय सर्वोच्चले रोक लगाए पनि कतिपय स्थानीय तहले भने बिदा दिएका छन् । उदयपुरका ३ स्थानीय तहले जनयुद्ध दिवस मनाउनका लागि भन्दै १ फागुनमा बिदा दिने निर्णय गरेको छ ।
उदयपुरको ताप्ली, लिमचुङबुङ, र रौतामाई गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा मंगलबार सार्वजनिक विदा दिएको उनीहरुले जारी गरेको सूचनामा उल्लेख छ ।
ताप्ली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले ढुंगराज विकको अध्यक्षस्तरीय निर्णय अनुसार जनयुद्ध दिवसमा सार्वजनिक विदा दिइएको जनाएका छन् ।
त्यसैगरी लिम्चुङबुङका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले सोमबार सूचना प्रकाशित गर्दै ऐतिहासिक जनयुद्ध सुरु भएको दिनको सम्मानमा गाउँपालिका अध्यक्ष मेजरकुमार राईको निर्देशन अनुसार फागुन १ गते सबै सरकारी कार्यालयको कामकाज बन्द रहने गरी सार्वजनिक विदा दिइएको उल्लेख गरेका छन् ।
रौतामाई गाउँपालिकाका अध्यक्ष बीरेन्द्र मगरले महान् जनयुद्ध सुरु भएको दिनको सम्मानमा सार्वजनिक विदा दिने निर्णय भएको बताए ।उदयपुरका ८ स्थानिय तह मध्य सार्वजनिक बिदा दिन सूचना जारी गर्ने तीनवटै गाउँपालिकाका अध्यक्ष नेकपा माओबादी केन्द्रबाट निर्वाचित हुन् ।