काठमाडौँ — सीआईबीले बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ गरेका उद्योगी अरुणकुमार चौधरीसहित तीन जनालाई छाड्ने तयारी गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले काठमाडौ जिल्ला अदालतको आदेश अनुसार छाड्न लागिएको जनाएको छ । चौधरीमाथि किर्ते र ठगी मुद्दामा अनुसन्धान भने कायमै रहने सीआईबीका अधिकारीले जनाएका छन् । चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई पनि छुड्ने जनाइएको छ ।
अदाललते दिएको समयमा अनुसन्धान नसकिएपछि उनीहरुलाई जमानीमा छाड्न लागिएको हो ।
काठमाडौ जिल्ला अदालतले सोमबार चौधरीसहित तीन जालाई थप दुई दिन भित्र अनुसन्धान नसकिए जमानीमा छोड्न आदेश दिएको थियो । चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् ।
तीनै जना बिहिबार पक्राउ परेपनि उनीहरु सिआइबीको हिरासतमा भने बसेका थिएन । स्वास्थ्यमा समस्या देखिएको भन्दै सबैजना ग्राण्डी अस्पतालमा भर्ना भएका थिए । सीआइबीले छाडेसँगै उनीहरु अस्पतालबाट पनि डिस्चार्ज हुने तयारीमा रहेको अस्पताल स्रोतले जनाएको छ ।