काठमाडाैँ : प्यूठानका प्रमुख धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं पर्यटकीय सम्पदा समेटेर बनाइएको सांगीतिक वृत्तचित्र प्रदर्शनी भएको छ ।
शनिबार काठमाडौँको बागबजारस्थित सिटी म्याक्स सिनेमा हलमा प्रतिनिधिसभाका सांसद सूर्य थापाको प्रमुख आतिथ्यतामा वृत्तचित्र प्रदर्शनी गरिएको हो ।
प्यूठानको बाङ्गेशाल भन्ने ठाउँमा जन्मिएका डा। राजन पासाले डेढ वर्ष लगाएर ‘जिल्लैभरि सँगसँगै घुम्दै रमाउँला’ भन्ने नारा राखेर उक्त वृत्तचित्र तयार गरेका हुन् । शिक्षा र ग्रामीण विकासमा विद्यावारिधि गरेका उनी त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकास केन्द्रीय विभागका उपप्राध्यापक समेत हुन् ।
करिब २१ मिनेट लामो उक्त सांगीतिक वृत्तचित्रमा प्युठानका स्वर्गद्वारी, गौमुखी, नौबहिनी, झिमरुक नदी, ऐरावतीजस्ता प्रमुख धार्मिक तीर्थस्थल समेटिएको छ ।
त्यस्तै लुङ्गका रिजाल बन्धुको सभ्यता एवम् कुलपूजा, झिम्रुक फाँट, नदीनाला एवं जिल्लाका सुन्दर बस्ती समेटिएको उक्त वृत्तचित्रमा सुन्दर एवं मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
शनिवार प्रदर्शन भएको उक्त वृत्तचित्र प्रदर्शन समारोहमा जिल्ला तथा जिल्ला बाहिरका ख्यात प्रख्यात व्यक्तित्वहरुको सहभागी थियो । कार्यक्रममा वरिष्ठ कलाकार हरिहर शर्मा, साहित्यकार जीवराज भट्टराई, प्रा।डा।प्रेम शर्मा, कलाकार बेगम नेपाली ’भटभटे माइलो’, गोरखा पालुङ्गटार नगरपालिकाकी उपमेयर वन्दना पाण्डे, माओवादी केन्द्रका नेता कुलमान गिरी, अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष धर्म गिरी, अधिवक्ता विमल पोखरेल, समीर सिंह, अस्मिता केसी, समुन्द्र गिरी, ध्रुव बस्याल, विपी बडाललगायतको उपस्थिति थियो।
राजन पासा र नीना बुढामगरको अभिनय र राजन पासा र तृप्ती खड्का गुरुङको स्वर रहेको रहेको उक्त वृत्तचित्रले जिल्लामा पर्यटकीय क्षेत्रको विकासमा टेवा पुर्याउने निर्माण पक्षको विश्वास छ ।
सांगीतिक वृत्तचित्रको प्रदर्शन गर्दै सुरु भएको उक्त कार्यक्रममा बोल्दै उपस्थित अतिथिहरूले प्युठानको समग्र विकासका लागि आफूहरूले आ–आफ्नो क्षेत्रबाट सक्दो प्रयास गर्ने बताए ।
शनिबार काठमाडौँमा एक कार्यक्रम गरेर प्रदर्शन गरिएको उक्त वृत्तचित्र हालका लागि भने सार्वजनिक गरिएको छैन । तर निर्माण पक्षले आउँदो कार्तिक महिनामा राजन पासाकै युट्युब च्यानल मार्फत् उक्त वृत्तचित्र सार्वजनिक गरिने बताएको छ ।