काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभाको बाँसबारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिए नलिएकोबारे प्रश्न गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई उक्त प्रश्न गरेका हुन् ।
‘बाँसबारी जग्गा प्रकरणमा केही दिनअघि अरुण चौधरीलाई पक्राउ गरेर हिरासतमा राखेको पनि देखियो । अरुण चौधरी जत्तिकै सेयर भएका अन्य साझेदारमध्ये अन्य सत्ता साझेदार दलका सांसद विनोद चौधरीको च्याम्पियन फुटवेयर पनि देखिएको छ । उनलाई थुन्नुपर्छ भनेको हैन मैले तर उनीमाथि चाहीँ अनुसन्धान गरियो कि गरिएन ? बयान लिइयो कि लिइएन ?’ लामिछानेले प्रश्न गरे ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जो जो सँग बुझ्नुपर्छ सबैलाई अनुसन्धानको दायरामा ल्याउने जवाफ दिए । गृहमन्त्री श्रेष्ठले भने, ‘अनुसन्धानको प्रक्रियामा जो जोलाई लिखत गर्न, बुझ्न ल्याउनुपर्छ ती सबैलाई ल्याउँछौं ।’
साथमा गृहमन्त्री श्रेष्ठले उक्त प्रकरणमा म्याद थप गर्न जाँदा दुई दिनभित्र अनुसन्धान सकेर रिहा गर्न अदालतले निर्देशन दिने कुरा अनपेक्षित र नेपालको न्यायीक इतिहासमै पहिलो भएको बताए । यद्यपी उनले अदालतको सम्मान गर्ने र आदेश कार्यान्वयन गर्ने जिकिर गरे ।