काठमाडौँ । कांग्रेस उपसभापति तथा प्रतिनिधिसभा सदस्य धनराज गुरुङले सहकारी ठगी प्रकरणमा आफ्नो नाम जोडिएकोमा आपत्ति जनाएका छन् । उनले सहकारी ठगी प्रकरणमा जोडिएकी ज्योति गुरुङसँग आफ्नो २०७६ साल फागुनमै सम्बन्धबिच्छेद भएको समेत बताएका छन् । सम्बन्धविच्छेद भईसकेकोले ज्योति गुरुङले गरेको कारोबारमा आफूलाई जोड्न नमिल्ने उनको उनको भनाई छ ।
प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै गुरुङले आफूमाथि छानबिन गर्न माग पनि माग गरे । ‘कुनै पनि व्यक्तिलाई आरोपबाट उन्मुक्ति दिनुहुन्न भन्ने मान्यतामा म अडिग छु,’ उनले भने ‘संसदीय छानबिनका लागि पनि म तयार छु ।’
पूर्व कानुनमन्त्रीसमेत रहेका गुरुङ र उनकी पत्नी ज्योती गुरुङले ललितपुर महानगरपालिका १४ मा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन गरेको भन्दै प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईब) मा जाहेरी परेको छ। सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सो जाहेरी दर्ता गराएका हुन् ।
जाहेरीमा स्याङ्जा जिल्लाको साविक अर्जुन चौपारी ७ हाल अर्जुन चौपारी २ लामिडाँडा घर भई ललितपुर महानगर १ थसिखेल बस्ने ज्योति गुरुङ र सोही ठेगानाका धनराज गुरुङले आर्थिक अपराधको ठगी गरेको आरोप लगाइएको छ।
सीआईबीमा जाहेरी दिएका सहकारीका अध्यक्ष कुम्भराज गुरुङले गत भदौ ६ गते सहकारी ठगी सम्बन्धमा अनुसन्धान गर्न गठित सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिमा पनि गएर बयान दिएका छन् ।
८१ वर्षीय कुम्भराजले समिति समक्ष दिएको बयानमा धनराज र उनकी पत्नीले १४ करोड ८१ लाख रुपैयाँ रकम ठगी गरेको बयान दिएका हुन् ।